मेरो नाममा तिम्रो थर जोड्न त सकेनौ तर तिमीले मलाई प्यासमेटाएको कति हो म चुक्ता गर्न चाहान्छु

0
470

त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए जस्तो महसुस भएको थियो । अरुको लागि दिन सधै जस्तो सामान्य नै थियो । तर मेरो लागि फरक ।दश बज्न दश मिनेट नै बाँकी थियो । म कोठाको ढोकामा चाबी लगाउँदै थिएँ । मोवाइलको घण्टी बज्यो । ब्यागबाट मोबाइल निकालेर मोबाइलको स्क्रिनमा आँखा दौडाएँ । मोबाइलमा सेभ रहेको नम्बरबाट फोन आएको रहेछ ।त्यो नम्वरमा मैले एक पटक फोन गरेकी थिएँ । म त्यो व्यक्तिलाई हेर्न आतुर थिएँ । कस्तो होला उसको अनुहार ? कपाल फुलेको होला कि कालै होला ? अग्लो छ कि डल्ले होला ? त्यो भन्दा पनि मेरो मनमा पहाड बनेर बसेको प्रश्नको उत्तर उसको मुखबाट पाउँला कि नपाउँला ? पाएँ भने झन् कति तड्पिनु पर्ला मैले ? यस्तै अनेकौं प्रश्नको सगरमाथा थियो म भित्र । अतः मैले मोबाइलको रिसिभ बटममा औला दबाए ।

हेलो ! नमस्कार मिस । मैले पनि नरम स्वरमा नै नमस्कार फिर्ता गरे । उताबाट प्रतिउत्तर आयो – कता हुनुहुन्छ ? म आज सदरमुकाम आइपुगें । हिजो फोन गरेर छिटो आउनु भन्नु भएको थियो नि ! म त्यही ढकाल क्या ।म बिस्तारै गल्दै थिएँ । म भित्र भएको त्यो उर्जा बिलाउँदै गएको थियो । आफुलाई सम्हाल्दै बजारको एक होटलको नाम दिए । त्यही गएर बस्नु म आउँदै छु भनेर फोन राखिदिएँ । प¥यो भने म हजार जनाको अगाडी भाषण गर्न सक्छु जस्तो लाग्थो । तर एक अपरिचित मान्छेको बोलीले नै मलाई गलाएको थियो ।

मैले धेरै कोशिस गरेर उसको फोन नम्बर पत्ता लाएकी थिएँ । म आफै उसँग भेट्न चाहन्थे तर किन मन बेचैन थियो । म जुन कुरा उसँग गर्न चाहँदै छु त्यो कुरा गर्न मैले धेरै वर्ष अगाडि नै साहस बटुलेको थिए । त्यो दिन बर्षाैदेखि नियतीले पढाएको पाठको परीक्षा दिने दिन जस्तो लागेको थियो ।अफिस जान कोठाको चाबी लगाउदै गरेको मान्छे एका एक जान मन नै लागेन । मोवाइलको म्यासेज बक्समा गएर ‘मलाई सञ्चो भएन सो अफिस आउन सक्दिन आज सरी’ भनेर हाकिमलाई म्यासेज सेन्ट गरें । एक गिलास पानी पिएँ अनि उसलाई बस्न लगाएको होटल तिर लम्किएँ ।

 

करिब दश बजेर तीस मिनेट भैसकेको थियो मेरो घडीमा । बाटोमा अफिस जाँदै गरेका निचेजानेका थुप्रै भेटिए तर अघि पछि जस्तो बोल्न मन लागेन । म आफ्नै रफ्तारमा दौडिएको थिएँ । होटलमा पुगेर एकैछिन रनभुलमा परें । फोन गर्ने मान्छे कुन चाँही हो भनेर ।बिहानको समय भएर होला धेरै जना खाना खाँदै थिए । अलि पर ठुलो छातामुनी एक जना मान्छे पत्रिका पढिरहेको देखे । उसको अनुहार पत्रिकाले छोपेको थियो । ‘रहस्य’ भनेर सेभ गरेको उसको नम्बरमा कल गरें । पत्रिका पढिरहेको मान्छेको कमिजमा फोनको घण्टी बज्यो । पक्का भयो त्यही मान्छे हो जोसँग आज आमनेसामने कुरा गर्न जाँदैछु । उसको नजिक गएँ । उसले पनि मतिर आँखा डुलायो ।दुब्लो मान्छे, चुच्चो नाक अनि खैरो कमिज सुरुवालमा कालो स्टकोट लगाएको थियो । उसले तपाई नै हो ? भनेर प्रश्न ग-यो । मैले हो भने अनि क्याबिनमा गएर कुरा गरौँ भने । जहाँ कोही मान्छे नहोस् भन्ने म चाहन्थे । उसले हुन्छ भन्यो म क्याबिन तिरको सिँढी चढ्न थालें । उ मेरो पछि पछि लाग्यो ।

क्याविन सफा थियो । दुई जना आमनेसामने बस्न मिल्ने कुर्सी थिए । टेबलमा सेतो कपडा बिच्छ्याइएको थियो । त्यसमाथि राता फुल सजाइएका थिए । यो क्याविन प्रेमिल जोडीहरु प्रति लक्षित गरेर बनाएको हुनुपर्छ । हुन त धेरै जसो प्रेमिल जोडीहरु नै हुन्थे क्याबिनमा ।म यो भन्दा पहिला धेरै पटक यो क्याविनमा एक्लै बसेको छु । मलाई यहाँको एकान्त अनि क्यबिनबाटै देखिने नदीको दृष्यले निक्कै लोभ्याउने गर्छ । तर आज अरु दिन जस्तो बिलकुल अनुभुति छैन । उसलाई देब्रे तिरको कुर्सीमा बस्न आग्रह गरें म झ्याल भएतिर बसें । बस्दा बस्दै हातमा मेनु बोकेर वेटर आइसकेको थियो । बिहानको समय भर्खर खाना खाएर आएकाले मैले चिसो पिउने विचार गरें । उसले पनि खाना खाइसकेको रहेछ । दुईवटा चिसो मगायौँ ।वेटर गएपछि मलाई निकै गाह्रो भयो । कुरा कहाँबाट सुरु गरौँ ? कसरी गरौँ भनेर । मैले आफुलाई सम्हाल्दै परिचय गरें । उसले पनि परिचय दियो । अनि किन भेट्न चाहनु भयो ? प्रश्न पनि थप्यो । मैले उत्तर दिन नपाउँदै वेटरले डिउको गिलास लिएर ढोकाबाट भित्र आउने अनुमति माग्यो । मैले आउ भन्दै इसारा गरें । अनि माथि नआउनु केही चाहिए फोन गर्छु भनें । वेटर हस् भन्दै कोठाबाट बाहिरियो ।

 

फेरि केही छिनको मौनता पछि मैले एक घुट्को पिएँ । उसलाई भेट्नुको कारण पहिलो त पुरा भैसकेको थियो । यो भन्दा पहिला त्यो अनुहार मेरा आँखाको लेन्सले खिचेका थिएनन् । आज त्यो चित्र नमेटिने गरी दिमागको मेमोरिमा सेभ भइसकेको थियो ।मैले भित्रबाट लामो सास तानें अनि कुरा अगाडी बढाएँ । आफूले काम गर्ने अफिसबारे कुरा गरें । बाहना पनि बनाएँ, भुकम्म पछि भत्किएका घरहरुलाई सयोग गर्ने कुरा जानकारी गराउन भेट्न चाहेको भनेर । वास्तवमा म भत्केको घर भन्दा पनि भत्किएको मनको बारेमा कुरा गर्न चाहन्थें ।सामान्य कुराकानी पछि उ पनि खुलेर कुरा गर्न थाल्यो । गाउँमा वडा संयोजक रहेछन् । दुई भाइ छोरा र एउटी छोरीको बाबु पनि । जेठो छोरो आर्मीमा जागिरे कान्छो छोरा र छोरी पढ्दै रहेछन् । उनको बारेमा थाहा पाए पछि म जुन कुरामा भेट्न चाहन्थें त्यही प्रसंगमा विस्तारै प्रवेश गरें ।‘म पनि धेरै वर्ष अगाडि त परियोजनामै काम गर्थे नि !’ उसैले सुरु ग-यो । जुन कुरा म कोट्याउन चाहन्थें उसैले गोरेटो बनायो । मैले सोधें – कुन परियोजनामा काम गर्नु हुन्थ्यो ?

‘वन सम्बन्धी काम गर्ने । खाना बनाउनेदेखि अफिसको सबै काम जानेको छु ।’ उसले गरेको कामको बयान ग-यो ।मैले थप सोधें – तपाईं काम गर्दा देवयानी भन्ने महिलालाई चिन्नु हुन्थ्यो ? मेरो प्रश्नले ठुलै प्रहार गरे जस्तो विम्व उसको अनुहारले बोल्यो । अँध्यारो अनुहार लगाएर प्रतिप्रश्न ग-यो – किन र ? म सामान्य भएँ – हैन हैन त्यस्तो केही कारण छैन । उनको बारेमा सुनेको थिएँ । के रहेछ भनेर जान्न मन लाग्यो त्यसैले । अँ .. चिन्थें । उसले आफूलाई समाल्दै जवाफ दियो । म बिस्तारै रहस्यको भन्डाफोर गर्न तल्लीन थिएँ । मनमा धेरै रिस उठेको थियो तर अनुहारमा देखाउनु भएको थिएन । ‘देवयानी राम्रो चरित्रको महिला हैन रैछ है ?’ उसको राय जान्न चाहें ।अँ.. सबैले त्यस्तै भन्थे । उसले आधा जवाफ दियो । मैले अझ उत्सुकताका साथ उ तिर हेर्दै भने ‘आखिर के भएको थियो त्यसबेला र सबैले उसलाई नराम्रो भने ? मलाई सबैकुरा जान्न मन छ । अपठ्यारो नमानी भन्नु न ल ।’ मेरो कुरा सुनेर उ निकै वेचैन भइसकेको थियो ।

‘खै मलाई पनि त्यति धेरै त थाहा छैन ।’ घोसे मुन्टो लगाएर भन्यो ।

‘उसले बिहे नै नगरी पेट बोकेकी थिइ रे नि हो ?’ मैले मुटुमा गाँठो पारेर सोधें । उसले मसँग आँखा जुधाउन सकेन । बिस्तारै भन्यो – खै तेसै भन्थे । कसको पेट बोकेको रैछ देवयानीले ? प्रश्न माथि प्रश्न गरें मैले । उसले डिउको गिलास घुमाउदै भन्यो – आफ्नै मामाको भन्थे कोही । व्यापारी मधेसीको हो भन्ने पनि सुनेको थिएँ ।मैले ब्यागबाट देवयानीको फोटो झिकेर देखाउदै भने – यिनी नै हैनन् देवयानी ? उसले एक छिन मैले देखाएको फोटो नियालेर हे-र्यो अनि सानो स्वरमा ‘हो’ भन्यो । ‘अनि तपाईले कसरी चिन्नु भयो यिनलाई’ भनेर प्रश्न गर्दा उसको आवाज बेग्लै भैसकेको थियो । एकदम डराएको जस्तो आत्तिएको जस्तो । मैले मुसुक्क हाँस्दै फोटो ब्यागमा हालें तर उसको जवाफ दिइन । अनि के भयो । बच्चा जन्माइन् तिनले ? के जन्मिए छ ? अहिले कता छिन केही थाहा छ ? मैले एकैपटक प्रश्नका चाँङ लगाइदिएँ ।

उसले अलि झर्किएझैं भन्यो – के थाहा मलाई । यही कुरा सोध्न बोलाउनु भएको ? अरुको बारेमा जानकारी राख्ने ठेक्का लिएको छैन मैले । भन्दै कुर्सीबाट उठ्न खोज्यो । मैले पनि कडा स्वरमा भने – तपाईलाई अरुको बारेमा जानकारी राख्ने ठेकेदार भनेर भेट्न चाहेकी हैन । आफ्नै बारेमा गुमनाम हुने कायर हो भनेर भेट्न चाहेकी थिएँ ।मेरो कुरा सुनेर रातो रातो आँखा पार्दै उसले भन्यो – के नचाहिने कुरा गरेको ! मलाई कायर भन्ने तिमी को हौ ? अघिसम्म तपाई भनेर सम्बोधन गर्ने मान्छे तिमीमा पुगेको थियो । ‘साँच्चै सुन्न चाहन्छौ म को हो भनेर ?’ हिम्मत जुटाउ पहिला । म पनि तिमीमै ओर्लिएँ । अनि थपें – म तिम्रै विर्यको एक थोपा हुँ । देवयानीकी छोरी । जसलाई तिमीले जन्म दिन चाहेका थिएनौ । आज तिम्रै सामु छे …

बोल्दै थिएँ मेरा जोर आखाँबाट खै कति खेर आँशुको मुल फुटेछ पत्तै पाइन । नुनिलो झोल गालाको डिलबाट मुखमा स्वाद लिन पुगे पछि थाहा पाएँ मेरो मन थामिएको छैन । मानौ म कुनै मूर्तीसामु कुरा गरिरहेको छु । उसले कुनै प्रतिकृया दिएन एकहोरो हेरिमात्र रह्यो ।किन केही बोल्दैनौ ? तिमी नै हैनौ मेरो बाउ ? तिमीले नै हैन मेरो र मेरी आमाको जीवन बर्बाद बनाएको ? तिम्रो कारणले मैले यो समाजको कति धेरै प्रश्नमा निरुत्तर भएँ । किन त्यस्तो ग-यौ तिमीले । अझै हैन भन्न सक्छौ । कति भाग्छौ यथार्थबाट । मैले सयौं प्रश्न गरे । मेरो प्रश्नको जवाफ मात्र उसको आँशु थियो ।

अन्तत: बोल्यो – ‘हो म नै हो तिम्रो बाउ । म र देवयानी एक अर्कालाई प्रेम गथ्र्यौं । तर, मेरो घरमा छोराछोरी समेत थिए । देवयानी गर्भवती भएको थाहा पाए पछि मैले धेरै फकाएँ यो गर्भ फालौं भनेर । उनले मानिनन् । त्यसैले उनलाई र गाउँ छाडेर म भारत पुगें । उनले किन हो यसको पेट भनेर हल्ला गरिनछन् । झन्डै बाइस वर्षपछि नेपाल आएँ । आज उनी कहाँ छिन, कस्तो अवस्थामा छिन्, केही थाहा छैन । मैले त मेरा पुराना दिनहरु समेत भूलिसकेको थिएँ । मैले तिमीसँग एक दिन भेट होला भन्ने त सपनामा समेत सोचेको थिइन । मलाई माफ गर छोरी तिम्रो अभागी बाउलाई । के चाहन्छौ तिमी म त्यही गर्छु ।’

‘मेरो नामको पछाडि तिम्रो थर त दिन सकेनौ के दिन्छौ अब । बरु भन तिम्रो विर्यको मुल्य कति हो ? म चुक्ता गर्न चाहान्छु । तिम्रो र मेरो कुनै हिसाब किताब राख्न चाहान्न । जसको कारण म आज धर्तीमा छु त्यसको मूल्य कति हो ?म तिमीलाई चिन्न चाहन्थे । समाजले गरेको प्रश्नको आफैले पत्ता लगाउनु थियो । थाहा पाएँ । मलाई केही चाहिँदैन । ढुक्क हुनु म तिम्रो सम्पत्ती र परिवारमा जोडिने छैन । सक्छौ भने एउटा चीज देउ मलाई ।

‘के कुरा छोरी ?’ उसले लाचार बालकले झैं शिर निहु-यायो ।मलाई छोरी नभन्नु । मेरो र तिम्रो नाता यही सिध्याएर जाउँ । म मेरी आमालाई समेत भन्ने छैन तिमीलाई भेटेको कुरा । उनी निक्कै खुशी छिन् मेरो साथमा ।’ यत्ति भनें अनि त्यहाँबाट हिँडे ।मेरो बाउ चिनेको यथार्थ आफ्नै मनले कदापी स्विकारेन । नाता पनि देखाउने भन्दा अनुभुति गर्ने कुरा रैछ । प्रश्नहरुको सगरमाथाबाट विजयी भएर फर्किदा कसैले ताली बजाएनन् । न त आफ्नै मनले बजायो ताली । यद्यपी, जीत त आखिर जीत नै हो । केही पाउनु मात्र जीत हैन केही जान्नु पनि जीत रहेछ । नियतीको परीक्षामा प्रथम भएको त्यो दिन अझै पनि मसँग ताजा छ । – महिला खबर

(यथार्थ घटनामा आधारित)

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here