कसैले हराउन नसक्ने परमाणु शक्ति उत्तर कोरियासँग

0
259

एजेन्सी: उत्तर कोरियाले गत शनिबार आफ्नो स्थापनाको ६९ औं वर्षगाँठ मनाएर अमेरिकाविरुद्ध उभिन सक्ने र विश्वस्तरीय सैन्य सामर्थ्य प्रदर्शन गरेको छ। अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायले निरन्तर मिसाइल परीक्षण रोक्‍न दबाब दिए पटक पटक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले स्थापनाको ६९ औं वर्षगाँठमा यस्तो शक्ति प्रदर्शन गरेको जापानी समाचार संस्था क्योदोलाई उद्धृत गर्दै  बीबीसीले उल्लेख गरेको छ।

क्योदोका अनुसार उत्तर कोरियाको सबैभन्दा प्रभावशाली पत्रिका रोडोङ सिनमुनले आफ्नो अग्रपृष्ठमा मुलुकको प्रशंसा गर्दै लेखेको छ, ‘उत्तर कोरिया कसैसँग हार्न नसक्ने परमाणु शक्ति सम्पन्न राष्ट्र हो।’

परमाणु बमपछि हाइड्रोजन बम र अहिले आएर अन्तरमहादेशीय व्‍यालेस्टिक क्षेप्यास्त्रको विकास गरेरे उत्तर कोरियाले त्यस्तो सामर्थ्य हासिल गरेको रोडोङ सिनमुनले दावी गरेको छ।

यस्तै उसले मुलुकको स्थापना दिवसका अवसरमा उत्तर कोरियाका लगभग सबै पत्रपत्रिकाले देशभक्तिको भावना जगाउने खालका सामाग्री प्रकाशन गरेको छ भने रोडोङ सिनमुनले आफ्नो सम्पादकीयमा विश्व मानचित्रमा कुनैबेला दुर्भाग्यको अवस्थामा रहेको उत्तर कोरिया अहिले एउटा स्वतन्त्र र सम्प्रभु राष्ट्रका रुपमा अगाडि आउन सकेको लेखेको छ। सम्पादकीयमा भनिएको छ, ‘भविष्यमा हाम्रा बाटाहरु काँडाले भरिएको पक्कै हुनेछन् तर उत्तर कोरियाको भविष्य उज्जवल छ।’

यता, पत्रिका मिन्जु जोसानले उत्तर कोरियालाई एउटा शक्तिशालि समाजवादी देश निर्माणका लागि नागरिकहरुलाई देशभक्तिपूर्ण समर्पण देखाउन अपील समेत गरेको छ।

यसअघि बिहीवार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध सैन्य कारबाही गर्ने आफ्नो प्रशासनको पहिलो रोजाई नहुने बताएका थिए।तर सेप्टेम्बर ३ तारिखमा उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको बताएपछि उसको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर अमेरिकालगायत विश्‍वमाझ चिन्ताको विषय भनेको छ।

उत्तरले शक्तिशाली बम आफूसँग भएको र त्यलाई लामो दूरीको क्षेप्यास्त्रमा पनि राख्न सकिने दावी गर्दै अगस्टमा लामो दूरीको एउटा क्षेप्यास्त्र जापानी आकाश हुँदै समुद्रमा खसालेको थियो। त्‍यति मात्रै नभइ छुट्टै प्रसंगमा उत्तर कोरियाले संयुक्त राष्ट्रसंघमार्फत आफूविरुद्ध कडा प्रतिबन्ध लगाउने दिशामा अमेरिका अघि बढिरहे उसलाई ‘ठूलो पीडा र दुःख’ दिने चेतावनी दिएको छ।

विदेश मन्त्रालयद्वारा प्योङयाङमा जारी एउटा विज्ञप्तिमा उत्तर कोरियाको परमाणु विकासलाई उल्ट्याउन चाहने अमेरिका एउटा ‘रक्तपिपाशु जनावर’ भएको आरोप लगाइएको छ।

उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउन अमेरिकाले गरेको प्रस्तावमाथि छलफल गर्न सुरक्षा परिषद्को बैठक सोमबार बस्दैछ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here