मेरो घर परिवार र मलाई बुझ्ने केटा भेटियो भने म नेपाली संग पनि बिहे गर्न तयार छु ! ‘म त अचेल घर जाँदा पनि दुई छाक दालभात नै खान्छु । बुवा आमा छक्क पर्नुहुन्छ

0
2056

काठमाडौं । सात वर्षअघि पहिलोचोटि नेपालको माटोमा टेकेकी थिइन् आइना बार्काले । अन्ततः उनले यहीँ जरो गाडिन् ।

‘सोसल वर्क विषयमा ब्याचलरको पढाइ सकेर १९ वर्षको उमेरमा छुट्टी मनाउन उनी नेपाल आएकी थिइन् । यस क्रममा एक महिना हेटौंडामा बिताइन् ।

त्यही एक महिनाको बसाई नै उनको जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट सावित भयो । जब उनी आफ्नो देश फर्किइन्, उनको दिमागले ‘बोल्ड डिसिजन’ लिइसकेको थियो ।

घर पुगेपछि उनले आफ्ना बुवा-आमालाई भनिन्, ‘म अब नेपालमै बस्छु । त्यहाँ मेरो आवश्यकता छ ।’

आफ्नी एक मात्र सन्तानले यस्तो कुरा गर्दा बाबुआमा स्तब्ध भएका थिए । तर, उनीहरुले छोरीलाई रोक्न सक्ने अवस्था थिएन । किनकि उनीहरुलाई थाहा थियो, छोरीको हठी स्वभाव । उनले जब कुनै निर्णय लिन्छिन्, त्यसबाट कदापी पछि हट्दिनन् ।

‘मेरा बुवाआमाले मलाई राम्ररी बुझ्नुभएको छ,’ बार्का भन्छिन्, ‘म आफूलाई मनमा लागेको काम कुनै पनि हालतमा गरिछाड्छु भन्ने उहाँहरुलाई थाहा छ ।’

अन्ततः एक वर्षपछि बुवाआमासँग विदा भएर उनी सँधैका लागि नेपाल फर्किइन् ।

पहिले छोरीका बारेमा चिन्तित रहेका बाबुआमा अहिले भने खुशी छन् ।

नेपालमा केले तान्यो ?

छुट्टी मनाउनका लागि नेपाल आउँदा बार्काले समाजसेवी संगठनहरुका लागि भोलेन्टियर काम गर्ने योजना बुनेकी थिइन् । यस क्रममा हेटौंडामा रहेको एउटा बालगृहमा पुगिन् । त्यहाँ उनले सुस्त मनस्थितिका तीनजना बच्चा भेटिन् ।

‘ती बालबालिकाहरु शिक्षाको उज्यालोबाट बञ्चित थिए,’ बार्का सम्झिन्छिन्, ‘उनीहरुको खाने र सुत्ने मात्रै व्यवस्था थियो, स्कुल भर्ना गरिएको थिएन ।’

एक महिनापछि आफ्नो देश स्पेन फर्किँदा उनको मानसपटलमा तीनै बालबालिकाहरु घुमिरहे ।

‘म धेरै दुखी भएँ । किनकि हाम्रो देशमा यस्ता बालबालिकाका निम्ति आफूलाई विकास गर्न धेरै अवसरहरु हुन्छन् । तर, नेपालमा त्यस्तो केही थिएन,’ बार्काले भनिन् ।

बार्सिलोना फर्किएपछि बार्का आफ्नो योजनामा काम गर्न थालिन् । ती बच्चाहरुका निम्ति अल्पकालीन परियोजनाहरु प्रभावकारी नहुने निस्कर्षमा पुगेकी उनले हेटौडामा एउटा स्कुल स्थापना गर्ने निर्णय लिइन् ।

‘त्यसपछि नौ महिनाभित्र मैले निकै दुख गरेर १२ लाख रुपैयाँ संकलन गरेँ,’ बार्का भन्छिन्, ‘नेपालीहरुले सोच्नुहुन्छ होला कि स्पेन जस्तो देशमा त पैसा फालाफाल हुन्छ, यति रकम त कुनै ठूलो कुरा होइन । तर, सत्य के हो भने हाम्रो देशमा पनि सामाजिक कार्यका निम्ति पैसा जुटाउनु कठिन काम हो ।’

यसरी खुल्यो स्कुल

त्यसपछि बार्का नेपालमा आइन् र स्कुल निर्माणको काम सुरु गरिन् । सुरुमा उनले निकै संघर्ष गर्नुपर्‍यो ।

‘म एउटी भर्खरकी युवती । एक्ली । स्थानीयहरुले ममाथि अनेक शंका-उपशंका गरे । कसैले मलाई क्रिश्चियन धर्म प्रचारमा आएको सम्झिए त कतिले नेपालीलाई ठग्न आएको पनि भन्ठाने ।

तर, म हतोत्साही भइनँ । एकोहोरो काम गर्दै गएँ । अन्ततः स्थानीय समाजको मप्रतिको दृष्टिकोण सकारात्मक हुन थाल्यो,’ बार्काले सुनाइन् ।
सन् २०१४ को जनवरीमा एउटा सानो भवन निर्माण भयो । यसको नाम राखियो ‘आशा विशेष स्कुल तथा पुनस्र्थापन केन्द्र’ ।
शुरुमा तीन स्वयम्सेवी र पाँच विद्यार्थीहरुबाट काम थालेकी थिइन् उनले । ती विद्यार्थीमध्ये तीनजना उनले पहिल्यै भेटेका सुस्त मनस्थितिका थिए । तीन महिनापछि १३ जना विद्यार्थी थपिएर १८ जना पुगे ।

अहिले त्यो स्कुलमा २८ विद्यार्थी छन् । उनीहरु ६ देखि २१ वर्षसम्मका छन् । धेरैजसो स्कुलमा नै बस्छन् । अरुका लागि बसले ल्याउने पुर्‍याउने सुविधा छ ।

बार्का अब आफ्नो स्कुललाई अपग्रेड गर्न चाहन्छिन् ता कि धेरै बच्चाहरुलाई संरक्षण गर्न सकियोस् । हालै उनले १८ लाख रुपैयाँमा दुई कठ्ठा जग्गा किनेकी छिन् । त्यहाँ स्कुलको नयाँ भवन बनाउने विचार छ उनको । यसका लागि रकम संकलन गरिरहेकी छन् । नयाँ भवन बन्यो भने ५५ जना बालबालिकालाई त्यहाँ राखेर पढाउन सकिने बार्काले अनलाइनखबरलाई बताइन् ।

तीन बर्गका बालबालिका

स्कुलमा शारीरिक र मानसिकरुपमा अशक्त बालकालिकाहरु रहेको हुनाले उनीहरुका लागि पाठ्यक्रम र मूल्यांकन प्रणाली त्यसैअनुरुप तयार गरिएको छ । नेपाल, अंग्रेजी, गणित जस्ता नियमित विषयहरुका साथसाथै व्यवसायिक सीप र संगीत पनि सिकाइन्छ ।

‘त्यहाँ रहेका सबै विद्यार्थीहरु सामान्य व्यवहार देखाउँदैनन्,’ बार्काले भनिन्, ‘केही विद्यार्थीहरु आफैं खान र ट्वाइलेट जान पनि सक्दैनन् । हामी उनीहरुलाई लुगा धुने, नुहाउने, कोठा सफा गर्ने र टेलिफोन प्रयोग गर्नेसम्मको तालिम दिन्छौं ।’

विद्यार्थीहरुलाई तीन वर्गमा विभाजन गरिएको छ । मानसिकरुपमा अत्यधिक समस्याग्रस्त विद्यार्थीहरुलाई ग्रेड ‘सी’ मा राखिएको छ । उनीहरुमा सुधार देखिएपछि ग्रेड २ मा अपग्रेड गरिन्छ । यसैगरी ग्रेड ‘ए’मा चाहिँ ती विद्यार्थीहरुलाई राखिन्छ, जसमा न्यून समस्या हुन्छ । ए ग्रेडमा रहेकाहरुले अक्षर लेख्न, पढ्न र मानिसहरुसँग बातचित गर्न सक्छन् ।

स्कुलमा चार जना शिक्षक र दुई सहायक शिक्षक छन् भने दुई फिजियोथेरापिस्ट र एक कोअर्डिनेटर छन् । उनीहरु प्रत्येक महिना वैठक बसेर प्रत्येक विद्यार्थीहरुको प्रगतिबारे समीक्षा गर्छन् ।

‘प्रत्येक बच्चाहरु फरक हुन्छन्, त्यसैले हामीले उनीहरुका लागि व्यक्तिगत लक्ष्य तय गरेका छौं र त्यो लक्ष्य कति पूरा भयो भनेर महिनाको अन्त्यमा समीक्षा गछौर््र,’ बार्काले भनिन् ।

नेपालमा आएर काम गरिरहँदा पनि बार्काले आफ्नो पढाइलाई अघि बढाउन सकिनन् । उनले स्पेनको क्याटालोनिया ओपन युनिभर्सिटीबाट लिडरसिप एन्ड म्यानेजमेन्ट विषयमा मास्टर्स गरिन् । अब उनको एक मात्र प्राथमिकता आफ्नो संगठनको सेवा सुधार र विस्तार गर्नेमै केन्दि्रत छ ।

बार्काका बुवा इन्जिनियरिङका रिटायर्ड प्रोफेसर हुन् भने आमा एउटा प्राइभेट कम्पनीमा काम गर्छिन् ।

बुवाआमालाई छोडेर बिरानो देशमा जीवन बिताउन कत्तिको गाह्रो भएको होला ?

बार्काले भनिन्, ‘पक्कै पनि उहाँहरुले मलाई धेरै माया गर्नुहुन्छ । म पनि उहाँहरुलाई अति मिस गर्छु । म ३-४ महिनामा एक पटक घर जान्छु र फर्किन्छु । यहाँ रहँदा बुवाआमाले बारम्बार फोन गर्नुहुन्छ ।’

उनका बुवा पनि तीनपटक नेपाल आइसकेका छन् भने आमा एक पटक आएकी छिन् ।

विवाह कहिले गर्ने ?

बार्का अहिलेसम्म अविवाहित नै छिन् । विवाहको विषयमा कुनै योजना नबनाएको उनी बताउँछिन् ।

‘बिहे त पक्कै पनि गर्छु, तर कहिले गर्छु भन्न सक्दिनँ,’ उनी पन्छिइन् ।

‘सँधै नेपालमै बस्ने भएपछि बिहे पनि नेपालीसँगै गर्ने हो कि ?’

उनले जवाफ दिइन्, ‘मलाई राम्रोसित बुझ्ने र मेरो अभियानलाई साथ दिने व्यक्ति चाहिन्छ । त्यो पुरुष मेरै देशको वा नेपालको जो पनि हुन सक्छ । तर, बिहे गरेपछि नेपाल छोडेर अन्यत्र जान मलाई मञ्जुर छैन ।’

बार्काले थपिन्, ‘बिहेको विषयमा यताको र उताको रिवाज नै फरक छ । यहाँ प्रायः बाबुआमाले नै छोराछोरीका लागि केटा वा केटी खोज्ने चलन रहेछ । तर, मैले आफ्ना बुवाआमालाई ‘मेरा लागि केटा खोजिदिनुस’ भनेँ भने उहाँहरुले मलाई ‘क्रेजी’ सम्झिनुहुनेछ ।

दालभातमा पल्किइन्

बार्का एउटा विकसिक देशको तमाम सुखसुविधा त्यागेर बिरानो देशमा आएकी छिन् । यहाँको जीवनशैलीमा एड्जस्ट हुन कति गाह्रो पर्‍यो होला ?

उनले जवाफ दिइन्, ‘म पटक्कै सुविधाभोगी छैन । जस्तो परिवेशमा पनि रमाउन सक्छु । सरल जीवन बिताउन रुचाउँछु । मलाई बिहान उठ्नासाथ तातो पानी चाहिँदैन । २४ सै घन्टा बिजुली पनि चाहिँदैन । यहाँको हावापानी र जीवनशैलीमा आफूलाई ढालिसकेकी छु । मैले नेपाललाई आफ्नो घर बनाइसकेँ ।’

उनलाई नेपाली खानेकुरा पहिल्यैदेखि हो मन परेको । आम नेपालीहरुले जस्तै उनी दालभात नै खान रुचाउँछिन् ।

‘म त अचेल घर जाँदा पनि दुई छाक दालभात नै खान्छु । बुवा आमा छक्क पर्नुहुन्छ,’ उनले भनिन् ।

उनी अहिले हेटाैडामा करुणा गौतम नामकी महिलासँग बस्दैछिन्, जो आफैंमा शारीरिकरुपमा अशक्त हुन् । बार्काको विद्यालयमा करुणा एक भोकेसनल टिचरको रुपमा कार्यरत छिन् ।

विभिन्न प्रशासनिक कामका लागि बार्काले काठमाडौंमा आएर सरकारी निकायहरु धाइरहनु पर्छ । हेटौंडा र काठमाडौं ओहोर दोहोर गर्दा उनी सामान्य नागरिकहरु चढ्ने टाटा सुमो प्रयोग गर्छिन् ।

भविष्यका योजना

हेटौंडामा नयाँ भवन बनाइसकेपछि नेपालका अन्य स्थानमा पनि आफ्नो परियोजना विस्तार गर्ने सोच बार्काले लिएकी छिन् । यद्यपि यसका लागि दाता र समुदायले पर्याप्त सहयोग गर्नुपर्ने उनको भनाइ छ । अहिले उनलाई सबैभन्दा ठूलो समस्या पैसाकै छ ।

‘मैले संरक्षण दिएका बालबालिकाहरुले भविष्यमा आत्मनिर्भर भएर बाँचेको हेर्न चाहन्छु,’ कुराकानीको अन्त्यमा बार्काले भनिन्, ‘उनीहरु अरु बच्चाजस्तै स्कुल जान सक्षम होउन र भविष्यमा जागिर खान सकुन् भन्ने मेरो हृदयदेखिको चाहना छ । स्पेनजस्तो विकसित समाजमा सुस्त मननिस्थति भएकाहरु पनि सम्मानित जीवन बाँच्छन् ।

म चाहन्छु, नेपालका बालबालिकाहरुले पनि सामान्य जीवन बाँच्न सकुन् । यही मेरो एउटा सपना हो, र यसका लागि म आफ्नो सम्पूर्ण प्रयास लगाउनेछु ।’ अनलाइनखबर

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here