मज्जाले घुमेर आउनुस, अबको २०–५० बर्षपछी यो देश रहँदैन

0
4457

‘मज्जाले घुमेर आउनू, अबको केही वर्षमा त्यो देशै रहँदैन ।’

माल्दिभ्स जानुअघि जस–जसलाई भनियो, सबैको भनाइ यस्तै हुन्थ्यो।

माल्दिभ्स टापुहरुको देश हो । यो देशमा १ हजार एक सय ९२ वटा टापु छन् । अबको २०–५० वर्षमा माल्दिभ्स समुद्रमा डुब्ने अनुमान गरिएको छ।

माल्दिभ्स जाँदै गर्दा लागेको थियो, माल्दिभियनहरु यो कुराले तनावग्रस्त होलान् । होटेल पुग्नेबित्तिकै यही जिज्ञासा राखियो, आफू बसेको होटेलको माल्दिभियन रिसेप्सनिस्टलाई । तर, उनले देश समुद्रमा डुब्ने कुराबारे नै अनभिज्ञता प्रकट गरिन्।

त्यसपछि त जसलाई सोध्दा पनि एउटै जवाफ आउन थाल्यो– ‘मलाई थाहा छैन।’

कसैले तिम्रो देश समुद्रमा डुब्दै छ रे भने पनि उनीहरुले पत्याउने नामै लिँदैनन् । किनकि समुद्रले माल्दिभ्सका भूभागमा होइन, मानिसले समुद्रमाथि हस्तक्षेप गर्दै छन्।

माल्दिभियनहरुले आफ्नै आँखा अगाडि समुद्रलाई ढुंगा–माटोले पुरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको देखेका छन् । मान्छेको जोड–बलले प्रकृतिले फेरेको काँचुलीको साक्षी छन् उनीहरु।

राजधानी मालेभन्दा हुलुमाले ठूलो छ । यसको ठूलो स्वरुप पनि प्राकृतिक नभई मानवनिर्मित हो । त्यहाँ समुद्र पुरेर घर बनाउने क्रमको ‘फेज ३’ चलिरहेको छ । उनीहरुले देख्दादेख्दै हुलुमालेको भूगोल तीन गुणा ठूलो भइसकेको छ।

तर, माल्दिभ्स समुद्री तहभन्दा केवल १.५ मिटर उँचाइमा छ । बाहिरबाट हेर्दा र सुन्दा लाग्ने नै भयो– जाबो डेढ मिटर डुब्न केको आइतबार!

दुर्लभ कुराको महत्व

बालुवाको थुप्रोमा रहेको देश न हो, कसरी हुर्किनु ठूला–ठूला रुख ! सहरलाई हराभरा बनाउन पछिल्लो समय त्यहाँ बाहिरबाट माटोदेखि रुख ल्याएर रोपिएका छन् । तर, ती पनि धेरै ठूला नहुने जातका विरुवा हुन्।

यस्तो ठाउँमा घर बनाउन र फर्निचरका लागि काठ कहाँबाट ल्याउनु ? बाहिरबाट आयात गर्दा काठभन्दा फलाम र अन्य निर्माण सामग्री सस्तो पर्न आउँछ । तर, माल्दिभ्समा काठको प्रयोग यति धेरै गरिएको छ, बाहिरबाट जानेहरु चकित पर्छन् । काठै नपाइने ठाउँमा यसप्रतिको मोह विचित्रको छ । नेपालका घरका तुलनामा त्यहाँ काठको प्रयोग झन्डै १० गुणा बढी होला।

माल्दिभियनहरु काठलाई निकै मनमोहक तरिका तरिकाले प्रयोग गर्छन् नेपाल जस्तो वन सम्पदाको धनी देशबाट गएकाहरुलाई लाग्ने नै भयो, ‘हामीले त काठ चलाउन र सजाउन जानेकै रहेनछौं।’

घर निर्माण र फर्निचरमा काठको उपयोग हुनु त स्वाभाविकै मानिन्थ्यो, हुलुमालेमा रहेको सबैभन्दा प्रसिद्ध सपिङ सेन्टरको बाहिरी भाग पूरै काठले सजाइएको छ । लाग्यो, सजिलै नपाइने कुराकै महत्व ज्यादा हुँदो रहेछ । हामी नेपालीले त काठलाई ‘नजिकको तीर्थ हेला’ गरिरहेका रहेछौं।

जहाँ घरमा खाना पाक्दैन

मालेमै रहेको प्रसिद्ध ए डी के हस्पिटलको मेडिसिन विभागका प्रमुख डा ईश्वर शर्माले डिनरका लागि बोलाएका थिए । डिनर खाने समय भएपछि उनले भनेको रेस्टुरेन्ट पुगौंला भनेर घुमिरह्यौं।

रेस्टुरेन्टमा (विशेष गरी साँझ) खाना खाने हो भने टेबल अग्रीम बुकिङ गर्नुपर्दो रहेछ । यसको मेसो थिएन हामीलाई । हामी पुग्दा डाक्टर सा’ब त झन्डै दुई घन्टादेखि टेबल कुरेर बसिरहेका रहेछन् । किनभने राम्रो खाना पाइने रेस्टुरेन्टमा यसरी टेबल कुरिएन भने खानै नपाइँदो रै’छ।

त्यसपछि जिज्ञासा पलायो, थोरै जनसंख्या भएको ठाउँमा पनि रेस्टुरेन्टमा किन यस्तो भीडभाड ?

यो जिज्ञासा डा शर्माले नै मेटाइदिए– ‘यहाँका प्रायः स्थानीयले घरमा खाना पकाउँदैनन्।’

किनभने थोरै ठाउँमा बनेका सीमित घरका कोठा यति महँगा छन्, किचेन बनाउने कोठा भाडामा लगायो भने खाना मात्रै होइन, धेरैथोक गर्ने पैसा आउँदो रहेछ । बाहिरबाट गएकाहरुले त सुत्ने कोठा नै धेरै जनासँग सेयर गर्नुपर्छ, छुट्टै किचेनको त कुरै अर्को भयो।

स्कुटरको सहर

राजधानी मालेको जम्मा क्षेत्रफल ५.८ स्क्वायर किलोमिटर हो । हिँडेरै मालेका गल्ली–गल्ली चहार्ने हो भने पनि दुई–तीन घन्टामै सकिन्छ । प्रायः मानिसको काम पर्ने गन्तव्यमा पुग्ने दूरी बढीमा ३० मिनेटको होला । भन्दा पनि ‘वाकिङ डिस्टेन्स’ भएको सहर भनिन्छ यसलाई।

तर, मालेका बासिन्दा पैदल यात्रा गर्न त्यति नरुचाउने रहेछन् । जनसंख्या एक लाख ३३ हजार ४ सय १२ रहेको यो सहरमा जनसंख्याको झन्डै आधा सवारी साधन होलान् । गाडी किन्ने हैसियत प्रायसँग भए पनि पार्किङ गर्ने ग्यारेज नभई किन्न पाइँदैन । त्यसैले पैसा भएर पनि धेरैले गाडीमा हुइँकिने रहर मारेर बसेका छन्।

घरका प्रायः सदस्यले स्कुटर किन्ने रहेछन् । यहाँ बाइक पनि स्कुटरकै मोडेलका छन् । जुनसुकै घर, गल्ली, खाली ठाउँमा पार्किङ गरेर राखिएका स्कुटरको लस्कर देखिन्छ । लाग्छ, यो स्कुटरै स्कुटरको सहर हो।

वर्षमा दुई/चार ग्याङफाइटः सरकारको टाउको दुखाइ

नेपालमा अपराधका घटना दैनिक कति हुँदा हुन् ? गम्भीर अपराधको कुरा छेउ लगाउने हो भने ग्याङफाइट, कुटपिट आदिको रेकर्ड राखेर साध्य होला र ? तर, माल्दिभ्समा भने बिल्कुल फरक अवस्था छ।

अघिल्लो वर्ष त्यहाँ चार वटा जति ग्याङ फाइट भएछ । त्यो घटना सरकारको लागि निकै टाउको दुखाइको विषय बनिरहेको छ । मालेको इतिहासमा यी ठूला घटना हुन्।

माल्दिभियनहरु त्यहाँको समुद्र जत्तिकै शान्त छन् । उनीहरुमा बदलाको भावना नरहेको त्यहाँ बसिरहेका नेपालीहरु बताउँछन् । रिसाए पनि तुरुन्तै मिलिहाल्ने उनीहरुको स्वभाव छ । त्यसैले यहाँ कुटपिट, हत्या–हिंसाको घटना विरलै हुने रहेछन्।

गत वर्ष भएको चार वटा ग्याङ फाइटको घटनाले चाहिँ पछिल्लो समय जनतामा रिसाहापन बढेको हो कि भनेर सरकार गम्भीर बनेको हो।

खाली घडेरी ४–५ वटा !

समुद्रमा थोरै भूभाग भएको ठाउँमा जमिनको अभाव हुनु स्वाभाविक भइहाल्यो । कोही व्यक्तिको नाममा जमिन खाली छ भने पनि सरकारले आफैं १० तलाको घर बनाइदिने रहेछ । जहाँ ५ तला घरभेटी र ५ तला निश्चित समयका लागि सरकारको हुँदो रहेछ । त्यसैले कसैको पनि घडेरी खाली हुने सम्भावना रहँदैन।

स्थानीयहरु अनुमान गर्छन्, त्यहाँ अहिले बढीमा ४ देखि ५ घडेरी मात्रै खाली होला।

चुरोट र सोडाको अत्यधिक खपत

माल्दिभ्सको आम्दानीको मुख्य स्रोत पर्यटन हो । त्यसपछिको क्रममा माछा व्यापार आउँछ।

पर्यटक धेरै भित्रिन थालेपछि यहाँको आर्थिक स्तर कायापलट भएको छ । प्रतिव्यक्ति आय ९ हजार डलरभन्दा बढी पुगिसकेको छ । पर्यटकीय सहर हुनुको प्रभाव त्यहाँका स्थानीयमा देखिन्छ । मालेमा बस्ने १४ वर्ष कटेका अधिकांश युवाले चुरोट पिउने अनुमान गरिन्छ । गल्ली, समुद्रको किनार जहाँ पनि चुरोटका ठुटा भेटिन्छन्।

त्यस्तै, स्थानीयले दिनमा कफी कति पिउँछन् भनेर हिसाब राखि साध्य छैन । इनर्जी ड्रिंक्स र सोडाको प्रयोग त यहाँको सरकारको लागि चिन्ताकै विषय बनिरहेको छ।
माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्लाह नाजिक इब्राहिमले विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसियाका स्वास्थ्य मन्त्री स्तरीय बैठकको उद्घाटनमै यो चिन्ता व्यक्त गरे ।

कुल जनसंख्याको झन्डै ५८ प्रतिशतले शक्तिबर्द्धक पेय पदार्थ पिउने गरेको र ७० प्रतिशतले त्यहाँ सोडाजन्य पेय पदार्थ पिउने गरेका छन्।

रातभरि किन जाग्छ माले ?

माल्दिभ्सको राजधानी माले प्रायः बिहान ३ बजेसम्म जागा रहन्छ । सडकमा निस्किने हो भने दिनको जस्तै व्यस्तता देखिन्छ । तर, रात्रिकालीन रमाइलो भने यहाँ हुँदैन।
मदिराजन्य पदार्थको सेवन मालेभित्र गर्न निषेध छ । कसैले मदिरा पिएको खबर प्रहरीले पायो भने कडै सजाय भोग्नुपर्छ । माले बाहिरका रिसोर्ट र पाँचतारे होटेलमा भने पिउन पाइन्छ । यसकारण मदिराको प्रयोग सामान्य आम्दानी भएका व्यक्तिको पहुँच बाहिर छ।

तर पनि रातभरि माले किन जागै बस्छ त ?

हामीले यसको कारण धेरैसँग सोध्यौं, तर कसैले ठोस उत्तर दिन सकेनन् । त्यहाँ बसिरहेका एक नेपालीले अनुमान लगाए, ‘सुत्ने कोठाको साँघुरोपनले उनीहरुलाई बाहिरै रमाइलो लाग्दो हो।’

मालेमा रहेको जनसंख्या बाहिरका टापुबाट आउनेहरुको हो । त्यहाँका स्थानीय (जोसँग घर छ) त प्रायः श्रीलंका, थाइल्यान्ड, दुबई, कतार र सिंगापुरमा आलिसान जीवन जिइरहेका हुँदा रहेछन् । किनकि उनीहरुको घरबाट आउने भाडा ती देशमा रमाइलो गरेर जिउन पुग्ने हुन्छ।

स्रोत – डिबी खड्का नेपाललाइभ

 

Facebook Comments